4.2k
Shares
सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपराममा शनिबार राति करेन्ट लागेर श्रीमान्–श्रीमतीको ज्यान गएको छ। मृत्यु हुनेमा ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया श्रीमती बिमला देवी सरदार रहेका छन्।
उनीहरू आफ्नै खेतको काम सकेर राति करिब ८ बजे घर फर्कने क्रममा करेन्ट लागेर घटनास्थलमै निधन भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।
स्थानीय महेन्द्र सदाले हात्तीबाट धान जोगाउन जिआई तार तानेर विद्युत् प्रवाह गरेको करेन्टमा परेपछि सरदार दम्पत्तिको मृत्यु भएको हो।
शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पोष्टमार्टमका लागि लगिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।