राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अधारमा मुलुकको भाग्य र भविष्य निर्माण गर्ने युगीन जिम्मेवारी नेपाली युवाको काँधमा परेको बताउनुभएको छ। अन्तर्राष्ट्रिय युवा दिवस २०२५ का अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उहाँले युवाहरू यस जिम्मेवारी पूरा गर्न सक्षम भइसकेकोमा विश्वास व्यक्त गर्नुभयो।
राष्ट्रपति पौडेलले आफ्नो युवावयका संघर्ष, त्याग र क्रान्तिकारी इतिहास सम्झँदै भने, “तनहुँको बाहुन पोखरामा सामान्य कृषक परिवारमा जन्मिएर गरिबी र निरङ्कुशताको विरुद्ध हुर्किएको मेरो युवा वयमा क्रान्ति र परिवर्तनको हुटहुटीलाई सार्थक बनाउनु सहज थिएन। तर म र मेरो पुस्ताले सङ्घर्ष, अभाव, जेलनेलको कुनै परवाह नगरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भयौं।”
उहाँले प्रविधि, खेलकुद, मनोरञ्जन र उद्यमशीलताको क्षेत्रमा नेपाली युवाले उत्कृष्टता हासिल गरेको उल्लेख गर्दै त्यसलाई दिगो विकास र देश नवनिर्माणतर्फ उन्मुख गर्न सबैले सहयोग गर्नुपर्ने जोड दिनुभयो।
सरकारले युवालाई सहुलियतपूर्ण कर्जा, युवामैत्री लगानी वातावरण र नवप्रवर्तन तथा उद्यमशीलता विस्तारमा प्राथमिकता दिएको उल्लेख गर्दै युवाको सक्रिय सहभागिता र जागरुकता आवश्यक रहेको बताउनुभयो।
राष्ट्रपतिले उद्यमशीलता नै आर्थिक विकासको आधार भएको र यसले युवाको विदेश पलायन रोक्न र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसमा जोड दिनुपर्ने बताए।
अन्तर्राष्ट्रिय युवा दिवसलाई युवा सहभागिता र सशक्तीकरणका लागि साझा उत्सव भएको बताउँदै उहाँले यसको माध्यमबाट दिगो विकास, एकता र ऐक्यबद्धता थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि पनि उपस्थित थिए।