रुपन्देही जिल्ला कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कारागार बसाइको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली भैरहवा पुगेको छ।
केही दिनयता कारागारको ब्लक नम्बर–४ मा रहेका लामिछानेको सुविधासम्बन्धी समाचारहरू सार्वजनिक भएपछि आयोगले कारागार अनुगमन गर्ने निर्णय गरेको हो। अनुगमन टोलीमा मानव अधिकार आयोगकी सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रीमा बीसी लगायतका सदस्यहरू सहभागी छन्।
अघिल्लो समय पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लामिछानेलाई कारागारमा पत्रपत्रिका पढ्न नदिइ सूचनाको अधिकारबाट वञ्चित गरिएको र बस्ने कोठा असुविधाजनक रहेको बताएका थिए। यसपछि सञ्चार माध्यममा विभिन्न समाचारहरू प्रकाशन/प्रसारण भएका थिए।
समाचारहरू आएपछि कारागार प्रशासनले प्रेस विज्ञप्ति जारी गर्दै रवि लामिछानेलाई कुनै प्रकारको विभेद नगरेको स्पष्ट पारेको थियो।