संघीय संसद् प्रतिनिधिसभाको बैठक आज (बुधबार) अपराह्न १ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ। बैठकमा महत्वपूर्ण विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ।
आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८०’ मा राष्ट्रियसभाबाट गरिएका संशोधनहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी गरिएको छ।
यस्तै, आजै विभिन्न समितिका बैठकहरू पनि बस्ने कार्यक्रम रहेको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती’ लगायतका विषयमा समसामयिक छलफल हुने कार्यसूची छ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ सम्बन्धमा दफावार छलफल हुनेछ।
विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ।
साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदन’बारे छलफल हुनेछ।
आजको बैठकहरूबाट महत्वपूर्ण विधेयक तथा नीतिगत विषयहरूमा सहमति जुटाउने प्रयास हुने अपेक्षा गरिएको छ।




