जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरीको जिल्ला अध्यक्ष पदका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ।
जिल्ला अध्यक्ष पदमा वर्तमान अध्यक्ष केदार यादव, उपाध्यक्ष उमेश कुमार यादव र सचिव हरेराम यादवले उम्मेदवारी दिने निर्णय गरेका छन्।
जसपा नेपाल सप्तरीको एकता प्रथम अधिवेशन अन्तर्गत बिहीबार सम्पन्न बन्दसत्रमा सहमति जुट्न नसकेपछि चुनावी प्रतिस्पर्धा अनिवार्य बनेको हो। जिल्ला कार्यसमितिले सहमतिको प्रयास गरे पनि सफल नभएपछि निर्वाचन प्रक्रियाबाट नयाँ कार्यसमिति चयन गरिने निर्वाचन समितिले जानकारी दिएको छ।
निर्वाचन कार्यतालिका अनुसार, साउन १५ गते अन्तिम मतदाता नामावली प्रकाशित गरिएको छ। साउन १६ गते उम्मेदवारी दर्ता, नामावली प्रकाशन, दाबीविरोध तथा अन्तिम नामावली प्रकाशनको प्रक्रिया हुनेछ।
मतदान साउन १७ गते शनिबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। मतदान सम्पन्न भएको सोही दिन नै मतगणना गरिने निर्वाचन समितिले जानकारी दिएको छ।