सभामुख देवराज घिमिरेले संसद्को शक्ति शब्दमा मात्र नभई डिजिटल पहुँच र जनविश्वासमा निहित रहेको बताउनुभएको छ। स्विट्जरल्यान्डको जेनेभामा साउन १३–१५ गते (२९–३१ जुलाई २०२५) सम्म चलिरहेको छैटौँ विश्व संसद् सभामुख सम्मेलनमा उहाँले ‘डिजिटल भविष्य निर्माणमा संसद्हरूको भूमिका’ विषयमा सम्बोधन गर्नुभएको हो।
सभामुख घिमिरेले संसद्ले प्रविधिको उपयोगमार्फत जनसाधारणसँग प्रत्यक्ष संवाद, प्रतिक्रिया संकलन र जनभावनालाई नीतिमा रूपान्तरण गर्ने महत्वपूर्ण काम गर्नसक्ने उल्लेख गर्नुभयो। तर प्रविधिको दुरुपयोगबाट हुने गलत सूचना र भ्रमपूर्ण प्रचार विरुद्ध सचेत रहनुपर्ने उहाँको भनाइ थियो।
उहाँले संसद्हरूले अब मेसिन लर्निङ, डेटासेन्टर, स्पीच–टु–टेक्स्ट प्रविधि, डिजिटल आर्काइभ, ई–संसद् र इलेक्ट्रोनिक मतदान प्रणाली जस्ता उपाय अपनाउँदै कार्यप्रणालीलाई आधुनिक, पारदर्शी र जनमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो।
नेपालमा कृत्रिम बुद्धिमत्ता तथा सामाजिक सञ्जालसम्बन्धी विधेयकमाथि काम भइरहेको र संसद्को कार्यसञ्चालनमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको सभामुख घिमिरेले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “अबको युग प्रविधिबिना अघि बढ्न सक्दैन। संसद् पछाडि होइन, प्रविधिमा अगाडि बढ्ने संस्थाको रूपमा प्रस्तुत हुनुपर्छ।”