ट्रेन्डिङ

Logout

कम्युनिष्ट प्रधानमन्त्रीहरूले “असुली धन्दा” गरेका छन्: जनार्दन शर्मा

4.4k Shares

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेका अधिकांश सरकारहरूले जनअपेक्षा अनुसार काम नगरेको आरोप लगाउँदै ती प्रधानमन्त्रीहरूले “असुली धन्दा” मात्र गरेको ठहर गर्नुभएको छ।

पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले हालसम्म ९ पटक कम्युनिष्ट नेतृत्वमा सरकार बनेको भए पनि देशको बहुआयामिक गरिबी, उत्पीडन र पहिचानका मुद्दाहरू जस्ताको तस्तै रहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “दु:खका साथ भन्नुपर्छ, मनमोहन अधिकारी बाहेकका कम्युनिष्ट प्रधानमन्त्रीहरूले असुली धन्दा गरेका छन् भन्ने ठहर भएकै छ। यो आरोप होइन, यथार्थ हो।”

शर्माले प्रधानमन्त्रीले आफू भ्रष्टाचार नगर्ने र अरूलाई गर्न नदिने संकल्प लिन सक्थे भने आधा भ्रष्टाचार त्यसै घट्ने तर्क गर्दै हालसम्मको नेतृत्वमा त्यस्तो इमानदार प्रतिबद्धता नदेखिएको उल्लेख गर्नुभयो।

कार्यक्रममा उहाँले विदेशिने युवाहरूको बढ्दो संख्याबाट देखिएको श्रम पलायन, उत्पीडित जातिहरूमाथिको निरन्तर अन्याय, र पहिचानका मुद्दाको बेवास्तालाई उदाहरण दिँदै सोध्नुभयो, “९ पटक कम्युनिष्टले सरकार चलाउँदा जनताको जीवनस्तरमा के परिवर्तन आयो? हामीले के बदल्यौं?”

शर्माले यो प्रश्नलाई इतिहासकै सबैभन्दा कटु र बलियो प्रश्नको रूपमा व्याख्या गर्दै अहिलेको व्यवहार र प्रवृत्ति नबदलिए कम्युनिष्ट आन्दोलनप्रतिको जनविश्वास थप खस्किने चेतावनी दिनुभयो। उहाँले समाज परिवर्तनका आदर्श सिद्धान्तहरू व्यवहारमा उतार्न आवश्यक रहेकोमा जोड दिनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार