नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (एमाले) भित्र नेतृत्व हस्तान्तरणसम्बन्धी बहसलाई लिएर तीव्र कटाक्ष गर्नुभएको छ। अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्षसम्म नेतृत्व नछोड्ने अभिव्यक्तिपछि एमालेभित्रको मौनता र विरोधाभासप्रति भुसालले असन्तुष्टि व्यक्त गर्नुभएको हो।
पुष्पलाल श्रेष्ठको स्मृति दिवसको पूर्वसन्ध्यामा स्कुल अफ माक्र्सिज्मले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भुसालले युवा पुस्ताले नेतृत्व परिवर्तनको माग राख्दा पनि पार्टीभित्र त्यसको सुनुवाइ नभएको गुनासो गर्नुभयो।
भुसालले तर्क गर्नुभयो, “हाम्रो आन्दोलनको नेतृत्व भन्छ—अब २० वर्षसम्म मेरो कुर्सी नहेर्नू। अर्कोले लजाएर भन्छ—२० होइन, १०–१५ वर्ष चैं अरूलाई तयार गर्छु, तर म छोड्दिन्छु।” उहाँले यस्तो खाले अभिव्यक्तिलाई नेतृत्व हस्तान्तरणप्रतिको गम्भीरताको कमी र अवसरवादी प्रवृत्तिको संकेत भएको बताउनुभयो।
एमाले सचिवालय र केन्द्रीय समिति बैठकमा धेरै नेताहरूले अध्यक्ष ओलीको विकल्प नरहेको भन्दै गरिएको समर्थनप्रति पनि उहाँले व्यङ्ग्य गर्दै भन्नुभयो, “एउटा समूह अध्यक्षलाई चुनौती दिइरहेको छ भने अर्को समूह च्यासलतिर आरती उतार्दै छ—तिमी आजीवन नेतै भइराख।”
कार्यक्रममा जनवादी आन्दोलनका अग्रणी नेताहरूको स्मरण गर्दै भुसालले नेपालमा कम्युनिस्ट आन्दोलन सर्वश्रेष्ठ भौतिक आन्दोलन भएको टिप्पणी गर्नुभयो। उहाँले नेतृत्वको आलोचनालाई वैचारिक र संगठनात्मक परिपक्वताको आवश्यक हिस्सा मान्दै एमालेमा देखिएको नेतृत्वप्रतिको निरपेक्षता र विरोधाभासप्रति गहिरो चिन्ता प्रकट गर्नुभयो।