नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालाको विचारलाई सही ढंगले नबुझेका कारण नेपालमा राजसंस्था समाप्त भएको टिप्पणी गर्नुभएको छ। बीपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा बसुन्धरास्थित बीपी स्मृति अस्पतालमा आयोजित “देश विकास र देशवासीको उन्नतिको आधार: बीपी विचार” विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो।
महामन्त्री शर्माले बीपीले व्यक्त गरेको “राजा र मेरो गर्दन जोडिएको छ” भन्ने भनाइलाई राजसंस्थाले गलत रूपमा व्याख्या गरेको बताउनुभयो। उहाँले उक्त अपव्याख्याले नै अन्ततः राजसंस्थाको पतन ल्याएको दाबी गर्नुभयो।
उहाँले नेपालको विभिन्न राजनीतिक शक्तिहरू, राजसंस्था तथा स्वयं नेपाली कांग्रेसले समेत बीपी कोइरालाको दर्शन, विचार र भावनालाई गहिरो रूपमा आत्मसात् गर्न नसकेको स्वीकार गर्नुभयो। “बीपीलाई चाँडो र सही तरिकाले बुझ्न सके देशको उन्नति सजिलो बन्छ,” उहाँले भन्नुभयो, “तर बीपीलाई बुझ्ने सवालमा हामी सबैबाट कमजोरी भएको छ—कांग्रेसबाट, कम्युनिष्ट आन्दोलनबाट र राजसंस्थाबाट पनि।”
शर्माले बीपी कोइरालाको विचार, विशेषतः मेलमिलाप, लोकतन्त्र, राष्ट्रियता र समृद्धिको मार्गदर्शन आज पनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गर्दै उहाँको दर्शनलाई अवलम्बन गरेर मात्रै देश समृद्धिको दिशामा अघि बढ्न सक्ने स्पष्ट सन्देश दिनुभयो।