नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको छ। बैठकको अध्यक्षता पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको हो।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकमा आगामी विधान महाधिवेशनमा पेश गरिने विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि विस्तृत छलफल हुने छ।
यसअघि साउन २ र ३ गते बसेको पोलिटब्युरो बैठकबाट उक्त संशोधन प्रस्ताव पारित भइसकेको थियो। विधान मस्यौदा तयार गर्ने जिम्मेवारी पाएका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बैठकमा संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। इच्छुक केन्द्रीय सदस्यले बढीमा तीन मिनेटभित्र धारणा राख्न पाउने छन्।
बैठकमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो सदस्यबाहेक करिब २३० जना केन्द्रीय सदस्यहरूले धारणा राख्न सक्नेछन्।
संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र एक पदमा दुई कार्यकालसम्म मात्र रहने सीमा हटाउने प्रस्ताव गरिएको छ।
एमालेको विधान महाधिवेशन आगामी भदौ २०–२२ गते ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने तय भएको छ।