नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार दिउँसो एमाले पार्टी कार्यालय च्यासल पुग्नुभएको छ।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो।
शनिबार बसेको एमाले पोलिटब्युरो बैठकले पार्टीको विधान मस्यौदा परिमार्जनसहित अनुमोदन गरेको छ। पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण र सक्रिय राजनीतिमा फर्कने विषयमा गम्भीर छलफल भएको थियो। आगामी केन्द्रीय कार्य समितिको बैठकले यी विषयलाई थप छलफल गरी अनुमोदन गर्ने नेताहरूले बताएका छन्।
पूर्व राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय राजकुमार राईले पार्टीको आन्तरिक मामिला र समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिनुभयो।
पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान मस्यौदामा ७० वर्षको उमेर हद र दुई कार्यकालको व्यवस्था खारेज गर्ने प्रस्तावलाई पोलिटब्युरो बैठकले अनुमोदन गरिसकेको छ।