ट्रेन्डिङ

Logout

राप्रपामा आन्तरिक विवाद चर्कियो, इतर समूह निर्वाचन आयोग जाने

4.4k Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद तीव्र बनेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले स्वेच्छाचारी ढंगले पार्टी सञ्चालन गरेको आरोप लगाउँदै इतर समूहले निर्वाचन आयोगलाई गुहार्ने निर्णय गरेको छ।

शनिबार बसेको छुट्टै भेलाको निर्णयअनुसार इतर समूह आज बिहान ११ बजे निर्वाचन आयोग जाने तयारीमा छ। लिङ्देनले पार्टी विधानविपरीत नेताहरूमाथि कारबाही गरेको भन्दै उक्त समूहले यो कदम चालेको हो। महामन्त्री धवलशम्शेर राणासहितका नेताहरूले लिङ्देनका पछिल्ला निर्णयहरू प्रक्रियासम्मत नभएको आरोप लगाएका छन्।

केही दिनअघि लिङ्देनले प्रवक्ता सगुन सुन्दर लावतीलाई पदबाट हटाएका थिए। साथै, राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीलाई अनुशासन समिति संयोजकबाट हटाएर रोशन कार्कीलाई जिम्मेवारी दिएका थिए। राणा समूहले यो निर्णयलाई विधानविपरीत र अवैधानिक भनेको छ। राप्रपाको विधानअनुसार यस्ता कारबाहीका लागि केन्द्रीय समितिमा प्रस्ताव ल्याउनुपर्ने व्यवस्था छ।

विशेषग नवराज सुवेदीमाथिको कारबाहीको विषयलाई लिएर इतर समूह निर्वाचन आयोग पुग्ने तयारीमा छ। उल्लेखनीय छ, सुवेदीले राजावादी आन्दोलनको संयोजक रहँदा कुनै पनि पार्टीको सदस्य नरहेको र राप्रपाको साधारण सदस्यसमेत नभएको सार्वजनिक घोषणा गरेका थिए।

शनिबार महामन्त्री धवलशम्शेर राणाको नक्सालस्थित सचिवालयमा बसेको भेलामा इतर समूहका नेताहरूले लिङ्देनमाथि विधानविपरीत र मनोमानी ढंगले संगठन चलाएको आरोप लगाए। भेलामा पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री हरिबहादुर बस्नेत, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री डा. धवलशम्शेर राणा, महामन्त्री कुन्तीकुमारी शाही, प्रवक्ता सगुन सुन्दर लावती, सहायक प्रवक्ता प्रविनकुमार थोकर तामाङ, सहायक महामन्त्री प्रेम बलायर, सहायक महामन्त्री ऋषिराज देवकोटा, सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहलगायत केन्द्रीय सदस्यहरू सहभागी थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार