ट्रेन्डिङ

Logout

संसद् भवन परिसरमा ड्रोन खसेको घटना: गम्भीर अनुसन्धानको माग

5.1k Shares

मंगलबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले संघीय संसद् भवन परिसरमा ड्रोन खसेको विषयलाई गम्भीरतापूर्वक उठाए। उनले ड्रोनमार्फत सूचना संकलन र अन्तर्राष्ट्रिय आतंकवादी गतिविधिसँग जोडिएको हुन सक्ने भन्दै यसलाई गम्भीर रूपमा लिनुपर्ने बताए।

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले यो मुद्दा उठाएपछि संसद् भवनको सुरक्षा जिम्मेवारीमा रहेको बानेश्वर प्रहरी वृत्तसँग जानकारी मागिएको थियो। प्रहरीका अनुसार, २३ असारको साँझ संसद् भवन परिसरमा ड्रोन खसेको सूचना प्राप्त भएको थियो। उक्त ड्रोनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको छ।

बानेश्वर प्रहरीका एक अधिकृतले भने, “उक्त ड्रोन कुनै विशेष प्रकारको नभई सामान्य ड्रोन दुर्घटना भएको प्रारम्भिक अनुमान छ। तर, संसद् भवनजस्तो संवेदनशील क्षेत्रमा भएकाले हामीले यसलाई गम्भीर रूपमा लिएर प्रयोगशालामा पठाएका छौं।”

प्रहरीका अनुसार, बानेश्वर क्षेत्रमा पहिले पनि प्राविधिक कारणले ड्रोन खस्ने घटना भएका थिए। “कतिपयले ड्रोन हराएको भन्दै खोजतलासका लागि प्रहरीलाई जानकारी दिने गरेका छन्,” ती अधिकृतले थपे, “तर ती सामान्य ड्रोन मात्रै हुन्।”

प्रयोगशालाको प्रतिवेदन आउन बाँकी रहेको र ड्रोन कसको हो भन्ने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार