नेकपा एमालेका सचिव रघुविर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीति प्रवेशले पार्टीमा कुनै अन्तरविरोध नभएको दाबी गरेका छन्। उनले भण्डारी सक्रिय राजनीतिमा आएमा पार्टी अध्यक्ष केपी शर्मा ओलीकै सहमति र प्रस्तावमा आउने बताए।
जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै ओली निकट नेता महासेठले भने, “बजारमा हल्ला छ कि ओली र भण्डारीबीच अन्तरविरोध बढेको छ र कार्यकर्ताहरू कित्ताकाटमा छन्। मिडियामा आइरहेका यस्ता समाचारमा कुनै सत्यता छैन। अध्यक्ष र पूर्वराष्ट्रपतिबीच कुनै अन्तरविरोध छैन।”
भण्डारीले सक्रिय राजनीतिमा आउने कुरा उठाए पनि कसरी अघि बढ्ने भन्ने स्पष्ट नभएको बताउँदै महासेठले थपे, “यदि उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै सहमति र प्रस्तावमा आउनुहुनेछ।” संविधान र एमालेको विधानले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा रोक नलगाएकाले भण्डारी राजनीतिमा फर्किन सक्ने उनको भनाइ छ।
पार्टी सचिवालयमा यो विषयमा छलफल भएको उल्लेख गर्दै महासेठले भने, “यदि उहाँ सक्रिय राजनीतिमा आउन चाहनुहुन्छ भने हामीले किन रोक्ने? संविधान र विधानले रोक्ने अधिकार दिएको छैन।”
राजनीतिमा फर्कने वा नफर्कने कुरा भण्डारीको व्यक्तिगत निर्णय भएको उनले प्रष्ट पारे। भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको भए पनि पार्टीभित्र अन्तरविरोध बढाउने काम नगरेको उनको दाबी छ।
महासेठले पार्टीका केही नेताहरूले अनावश्यक अन्तरविरोध बढाएर भण्डारीलाई विवादमा तानेको बताए। उनले भने, “हाम्रा एक–दुई नेताले अन्तरविरोध बढाउने काम गरेका छन्, जुन ठीक होइन। पूर्वराष्ट्रपतिलाई विवादमा तान्नु राम्रो होइन।”