सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरे। नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट ४ जेठमा मन्त्री बनेका चौधरीको बर्खास्तगी खासै आश्चर्यको विषय बनेन, किनकि मुख्यमन्त्रीले उनलाई पहिल्यै राजीनामा गर्न निर्देशन दिएका थिए।
चौधरीले मुख्यमन्त्रीको निर्देशनलाई चुनौती दिँदै भनेका थिए, “मैले कुनै गल्ती गरेको छैन, किन राजीनामा दिने? गल्ती गरेको छु भने बर्खास्त गर्नुहोस्।” पहिलो निर्देशनमा पार्टीसँग सल्लाह गर्ने जवाफ दिएका चौधरीले दोस्रोपटक राजीनामा नदिने अडान लिँदै बर्खास्त गर्न चुनौती दिए। पार्टी संरक्षक रेशम चौधरी र प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीसँग परामर्श गरेर उनले पदीय मर्यादा नतोडेको निष्कर्ष निकालेका थिए।
चौधरीको अडानले मुख्यमन्त्री शाहलाई नैतिक संकटमा पारेको थियो। नाउपालाई सरकारमा राख्ने चाहना भए पनि शाहले चौधरीलाई बर्खास्त गर्ने निर्णय लिए। उल्लेखनीय छ, डेढ महिनाअघि आर्थिक लेनदेनको अडियो प्रकरणमा मुछिएर राजीनामा दिएका नाउपाकै लक्ष्मणकिशोरको ठाउँमा चौधरीलाई मन्त्री बनाइएको थियो।
मुख्यमन्त्री शाहले नाउपासँग सहकार्य जारी राख्न चाहे पनि चौधरीलाई राजीनामा गराएर अर्को व्यक्तिलाई मन्त्री बनाउन प्रस्ताव गरेका थिए। तर, नाउपाका संरक्षक रेशम चौधरीले चौधरीलाई नै निरन्तरता दिने अडान लिएपछि कुरा बिग्रिएको स्रोत बताउँछ।
“मुख्यमन्त्रीले घनश्याम चौधरीलाई बोलाएर रामेश्वरलाई राजीनामा गराएर अर्को व्यक्तिको नाम दिन भनेका थिए,” स्रोतले भन्यो, “तर पछि रेशम चौधरीले रामेश्वरलाई फिर्ता नबोलाउने अडान लिएपछि कुरा बिग्रियो।”
यसले सुदूरपश्चिमको राजनीतिमा नाउपा र मुख्यमन्त्रीबीचको सम्बन्धमा तनाव सिर्जना भएको देखिन्छ।