Logout

प्रमाणयुक्त अनुसन्धान र प्रभावकारी अभियोजनमार्फत न्याय सुनिश्चित गर्न प्रधानमन्त्रीको आह्वान

585 Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणमा आधारित र प्रभावकारी बनाएर न्याय सम्पादनमा सहयोग पुर्‍याउन आग्रह गर्नुभएको छ।

शुक्रबार अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तथ्य र प्रमाणमा आधारित अनुसन्धान र अभियोजनले दुविधारहित न्याय सम्पादन हुने गरी काम गर्न निर्देशन दिनुभयो।

“सामाजिक अन्याय रोक्न र सामाजिक सुव्यवस्थाका लागि अनुसन्धान, अध्ययन र समयानुकूल कानुन निर्माण तथा प्रभावकारी कार्यान्वयन आवश्यक छ। यसका लागि सक्षम, इमानदार र दीक्षित जनशक्ति, उचित स्रोत र साधनको आवश्यकता छ। सरकार यस्ता अवसर र सामग्री उपलब्ध गराउन प्रतिबद्ध छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो। “प्रहरीमा स्वच्छता, निष्पक्षता र पारदर्शिता हुनुपर्छ। सुविधाको अभावले गलत बाटो नसोचियोस् भनेर सरकारले सेवा-सुविधामा ध्यान दिनेछ।”

उहाँले अपराधीले अपराध लुकाउन विभिन्न प्रविधि र तरिका प्रयोग गर्ने भएकाले प्रहरीलाई नयाँ प्रविधि र स्रोत-साधनले सुसज्जित बनाउनुपर्ने र त्रुटिरहित अनुसन्धानले न्यायको बाटो देखाउने बताउनुभयो।

गृहमन्त्री रमेश लेखक र महान्यायाधिवक्ता रमेश बडालसहितको उपस्थितिमा भएको सम्मेलनमा प्रधानमन्त्री ओलीले प्रणालीगत सुधारमार्फत समान अधिकार र अवसर प्रदान गर्न, विकास, सुव्यवस्था र सुशासनमा जोड दिँदै दोषीलाई कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्न सबैलाई आग्रह गर्नुभयो।

प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित दुईदिने सम्मेलनले निष्कर्षसहित घोषणापत्र जारी गर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट

सम्बन्धित समाचार