लगानी बोर्डले एक केबुलकार र तीन जलविद्युत् आयोजनाका लागि कुल एक खर्ब १७ अर्ब ४० करोड रुपियाँको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सम्पन्न बोर्डको ६४औँ बैठकले यो निर्णय गरेको हो।
स्वीकृत परियोजनाहरूमध्ये ८१.०४१ किलोमिटर लामो मुक्तिनाथ केबुलकार परियोजनाका लागि ५७ अर्ब ६४ करोड रुपियाँको लगानी स्वीकृत भएको छ। त्यस्तै, २१६ मेगावाटको बझाङ माथिल्लो सेती जलविद्युत्, ४४ मेगावाटको बकान खोला जलविद्युत् र ४३.२ मेगावाटको छिलुङ खोला जलविद्युत् परियोजनाका लागि जम्मा ५९ अर्ब ७६ करोड रुपियाँ लगानी स्वीकृत गरिएको बोर्डले जनाएको छ।
बैठकले मुक्तिनाथ केबुलकार परियोजनाको परियोजना विकास सम्झौता (पिडिए) को सर्तहरूबारे प्रस्तावक कम्पनीसँग छलफल गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ।
यसैगरी, सूचना तथा सञ्चार प्रविधि (आइसिटी) पार्क परियोजनालाई स्विस च्यालेन्ज अवधारणा अनुसार प्रतिस्पर्धात्मक ढङ्गले अघि बढाउने निर्णय भएको छ। साथै, मधेश प्रदेशको जनकपुरमा प्रस्तावित प्रशोधित खानेतेल परियोजनाको अध्ययनका लागि प्रस्तावक कम्पनीसँग समझदारी गर्ने र मूल्याङ्कनका लागि कार्यदल गठन गर्ने निर्णय भएको छ।
बैठकले ८०० मेगावाटको पश्चिम सेती जलाशययुक्त जलविद्युत् परियोजनाको भारतीय कम्पनी एनएचपिसीले पेस गरेको अन्तिम विस्तृत प्रतिवेदन जानकारीमा लिएको छ। उक्त परियोजनाका लागि विभिन्न वित्तीय ढाँचाको अध्ययन गरी आगामी बैठकमा पेस गर्ने निर्णय भएको छ।
यसैगरी, नेपालको रेलमार्ग क्षेत्रमा सहकार्य गर्न कोरियन रेलरोड कर्पोरेसनसँग गरिने समझदारीपत्रको मस्यौदा मन्त्रीपरिषद्मा स्वीकृतिका लागि पेस गर्ने निर्णय भएको बोर्डले जनाएको छ।