सभामुख देवराज घिमिरेसँगको संयुक्त छलफलपछि सत्ता पक्ष र विपक्षी दलहरू आ–आफ्नो आन्तरिक छलफलमा जुटेका छन्।
सभामुखको आह्वानमा बसेको संयुक्त बैठकमा सत्तापक्षका प्रमुख सचेतकसहित सभामुखले गृहमन्त्रीलाई बोल्न दिन विपक्षीलाई आग्रह गरेका थिए। सत्तापक्षले विपक्षी दलहरू सकारात्मक देखिएको दाबी गरे पनि विपक्षीहरूले भने आफूहरूले आफ्नो पक्ष प्रस्ट रूपमा राखेको बताएका छन्।
विपक्षी दलहरूले राज्यका जिम्मेवार पदाधिकारीको संलग्नतामा भिजिट भिसाका नाममा मानव तस्करी भएको आशंका गर्दै २०६४ साल यताका सबै गृहमन्त्री र श्रममन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेका छन्। यस विषयमा निर्णय लिन सत्तारूढ गठबन्धन पनि आन्तरिक छलफलमा जुटेको छ।
हाल दुवै पक्षको छुट्टाछुट्टै छलफल संसद भवन, बानेश्वरमै जारी छ। सत्ता र विपक्षी दलहरू आन्तरिक छलफलमा व्यस्त भएका कारण सभामुखले आज बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधि सभा बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको जानकारी दिएका छन्।