जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा लोकतन्त्र विरोधी शक्तिहरूले संघीय गणतन्त्रलाई खारेज गर्ने षड्यन्त्र गरिरहेको बताउनुभएको छ। शनिबार जनकपुरधाममा आयोजित समाजवादी महिला सङ्घ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन २०८२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले सडकदेखि सदनसम्म यस्ता शक्तिहरू सक्रिय रहेको टिप्पणी गर्नुभयो।
उहाँले लोकतान्त्रिक गणतन्त्र बिना मुलुकमा समानता कायम हुन नसक्ने बताउनुभयो। “विगत २५० वर्षको निरङ्कुश शासनमा महिलाहरूलाई कतै समानता प्राप्त थिएन। मधेश आन्दोलनले ल्याएको संघीयताले अहिले महिलाहरूले हरेक क्षेत्रमा हकअधिकार पाएका छन्,” यादवले भन्नुभयो।
महिलाहरूको हालको ३३ प्रतिशत सहभागितालाई अपर्याप्त ठान्दै उहाँले राज्यका हरेक अङ्गमा ५० प्रतिशत सहभागिता हुनुपर्नेमा जोड दिनुभयो। समानताको परिकल्पना जसपाबाहेक अन्य कुनै पार्टीमा नभएको उनको दाबी छ।
यादवले मुलुकलाई मन्त्री र प्रधानमन्त्रीले नभई बिचौलिया, कमिसनखोर र दलालहरूले चलाएको आरोप लगाउनुभयो। “नियुक्ति र बजेट निर्माणमा बिचौलियाहरूको कब्जा छ। सरकारले २६ खर्बभन्दा बढी वैदेशिक ऋण लिए पनि त्यो कहाँ खर्च भइरहेको छ, कसैलाई थाहा छैन,” उहाँले भन्नुभयो। विश्व बैंकको अर्बौँ अनुदान आए पनि भ्रष्टाचारका कारण देशको विकास नभएको उनको ठहर छ।
मुलुक राजनीतिक सङ्कट र आर्थिक रूपमा जर्जर अवस्थामा रहेको बताउँदै यादवले सरकारले संविधान संशोधनको नाममा जनतालाई ठग्ने काम मात्र गरेको आरोप लगाउनुभयो।