भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका प्रमुख नाकाहरू कैलालीको त्रिनगर (गौरीफण्टा) भन्सार र कञ्चनपुरको गड्डाचौकीमा चेकजाँचको क्रममा नेपालीहरूले लुटिएको गुनासो गरेका छन्। भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमा क्षेत्रमा पनि देखिएको छ।
सीमा नाकाहरूमा दुवै देशका सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन्। कामको सिलसिलामा भारत जाने र फर्कने नेपालीहरूले चेकजाँचको नाममा अनावश्यक दुख र आर्थिक शोषण भोग्नुपरेको बताएका छन्। कैलालीका अर्जुनबहादुर पार्कीले त्रिनगर भन्सार नाकामा परिचयपत्र देखाउँदा पनि भारतीय प्रहरीले आफ्नो खल्तीबाट एक हजार रुपियाँ लिएको बताए। यस्तै, अछामका रमेश थापाले पनि चेकजाँचको क्रममा अनावश्यक दुख दिइएको गुनासो गरे।
वैशाख ९ मा जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा एक नेपालीसहित २६ पर्यटकको मृत्यु भएपछि भारत–पाकिस्तानबीच तनाव बढेको छ। यसैको प्रभावले नेपालले पनि सीमा नाकाहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ। सशस्त्र प्रहरी नायब निरीक्षक पदम धामीले प्रत्येक व्यक्तिको परिचय र गन्तव्य सोधपुछ गरेर मात्र आवतजावतको अनुमति दिइरहेको बताए। नेपाल सरकारले सीमा आवागमनका लागि परिपत्र अनिवार्य गरेको छ।
सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ छन्। भारतले पाकिस्तानी नागरिकलाई निष्कासन गर्न थालेपछि र घुसपैठको आशङ्कामा नेपालले सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाएको सशस्त्र प्रहरी बलले जनाएको छ।
सुदूरपश्चिमका अधिकांश बासिन्दा रोजगारीका लागि भारत जाने गर्छन्। भारत–पाकिस्तान तनावको प्रभाव यी सीमा नाकाहरूमा स्पष्ट देखिएको छ। यसैबीच, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले क्षेत्रीय सुरक्षा परिस्थितिको समीक्षा गर्न केही दिनअघि छलफल गर्नुभएको थियो।