Logout

सामन्ती राजतन्त्र फर्किंदैन, जनताको संविधान कायम रहन्छ: प्रचण्ड

4.8k Shares

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्ती राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताउनुभएको छ। तराई मधेश जागरण हुलाकी मार्ग अभियानका लागि सुदूरपश्चिम पुग्नुभएका प्रचण्डले मङ्गलबार टीकापुर नगरपालिका–९, झुङ्गामा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो विचार व्यक्त गर्नुभयो।


“वंशका आधारमा राजा बन्ने व्यवस्था हटाएर जनताले सार्वभौमसत्ता सम्पन्न संविधान बनाइसकेका छन्। कोही संविधान कुल्चेर राजतन्त्र वा तानाशाही ल्याउने कोसिस गर्छन् भने त्यो सम्भव छैन, इतिहास फर्किंदैन,” प्रचण्डले भन्नुभयो।


उहाँले चैत १५ गते काठमाडौँमा क्रान्तिकारीहरूले राजावादीहरूविरुद्ध विशाल प्रदर्शन गरेपछि राजावादी समूहले हत्या, हिंसा र आगजनी गरेर अराजकता मच्चाएको, तर असफल भएर पतनको बाटोमा गएको बताउनुभयो।


प्रचण्डले साना दलहरूले सरकार चलाउन नहुने भन्दै ठूला दलहरूसँग मिलेर माओवादी सरकारबाट बाहिरिएको र त्यसले फाइदा पुगेको उल्लेख गर्नुभयो। भ्रष्टाचारविरुद्ध, सुशासन र सामाजिक न्यायका लागि काम गर्ने सङ्कल्पसहित अभियानमा लागेको बताउँदै उहाँले आगामी निर्वाचनमा सरकार बनाउन पुग्ने मत माग्नुभयो।


उहाँले सहिद परिवार, बेपत्ता, घाइते, अपाङ्ग, जेलनेल भोगेका र आम नागरिकसहित करिब एक करोड जनतासम्म आफ्नो सन्देश पुगेको दाबी गर्नुभयो।
यसैगरी, प्रचण्डले माओवादीले देशको अर्थतन्त्र सुधार्न आधारभूत तहबाट काम गरिरहेको बताउनुभयो। “हामीले जितेका १२३ पालिकाहरूमा उत्कृष्ट काम भइरहेको छ। वैधानिक मूल्याङ्कनमा पहिलो, दोस्रो र तेस्रो हुने पालिका र महानगरहरूमा माओवादीले नेतृत्व गरेको छ। माओवादीको सरकार टाढैबाट देखिनुपर्छ,” उहाँले भन्नुभयो।


अभियानमा माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, नन्दबहादुर पुन, पम्फा भुषाल, अग्निप्रसाद सापकोटा, देवप्रसाद गुरुङ, गिरिराजमणी पोखरेल, खगराज भट्टलगायत सहभागी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार