युथ कांग्रेस नेपालको केन्द्रीय अधिवेशनबाट सर्लाहीका युवा नेता प्रभात ठाकुर निर्विरोध महामन्त्रीमा चयन भएका छन्। राजनीतिमा लामो समयदेखि सक्रिय ठाकुरले संगठनभित्र कुनै पनि प्रतिस्पर्धा बिना महामन्त्रीको जिम्मेवारी हात पारेका हुन्, जुन कुराले उनको प्रभावशाली राजनीतिक हैसियतलाई पुष्टि गरेको छ।
छात्र राजनीति, समाजसेवा र लोकतान्त्रिक आन्दोलनको अग्रपंक्तिमा रहँदै आएका ठाकुर सर्लाही जिल्लामा युवाको नेतृत्व विकासमा प्रभावशाली भूमिका निभाउँदै आएका छन्। उनको निर्वाचनले विशेषगरी मधेसका युवाबीच उत्साह र आशा जागेको छ।
निवाचनपछिको संक्षिप्त मन्तव्यमा ठाकुरले भने, “मैले पाएको जिम्मेवारी गौरवको विषय हो। युवाको आवाज बुलन्द बनाउन र समाज परिवर्तनमा योगदान पुर्याउन म प्रतिवद्ध छु।”
युथ कांग्रेसले लोकतान्त्रिक मूल्य, पारदर्शिता र युवाको सशक्तिकरणलाई मूल उद्देश्यका रूपमा अघि सारेको छ। ठाकुरको नेतृत्वले संगठनलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ।
साथै, अधिवेशनबाट कोषाध्यक्षमा विराज अर्याल र सह-महामन्त्रीमा अश्मिता बयलकोटी चयन भएका छन्। नयाँ नेतृत्व टोलीले संगठनलाई अझ क्रियाशील र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।