ट्रेन्डिङ

Logout

पूर्वराजा ज्ञानेन्द्रलाई जवाफदेही बनाउनुपर्ने एमाले मुख्य सचेतक बर्तौलाको माग

5.7k Shares

काठमाडौँ– नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले चैत १५ गते राजावादीहरूको आन्दोलनका क्रममा भएको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जवाफदेही बनाउनुपर्ने माग गरेका छन्। शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईं पक्राउ परिसकेको उल्लेख गर्दै पूर्वराजाको संलग्नतामाथि प्रश्न उठाए।


बर्तौलाले फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्रले दिएको अभिव्यक्तिले आन्दोलनलाई उत्साहित गरेको र त्यसपछि गम्भीर घटना भएको दाबी गरे। “यति ठूलो घटना हुँदा पनि उहाँले कुनै प्रतिक्रिया दिनुभएको छैन, मृतकप्रति श्रद्धाञ्जलिसमेत व्यक्त गर्नुभएको छैन। यसले उहाँको कुनै न कुनै रूपमा संलग्नता रहेको देखिन्छ,” उनले भने। “त्यसैले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाउनुपर्छ।”


उनले प्रसाईंले प्रहरीलाई मार्ने उद्देश्यले गाडी चलाएको आरोप लगाउँदै प्रहरीले संयमता नअपनाएको भए ठूलो मानवीय क्षति हुन सक्थ्यो भन्दै सरकारले कानुनअनुसार सबैलाई कारबाहीको दायरामा ल्याउन दृढतापूर्वक कदम चाल्नुपर्ने बताए। “आन्दोलनको अगुवाइ गर्ने दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा छन्। कसैलाई पनि उन्मुक्ति दिनुहुँदैन,” उनले थपे।


बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले चैत १५ को तीनकुने घटनाले यस्ता प्रवृत्तिको बीजारोपण कसरी भयो भन्ने चिन्ता व्यक्त गरे। उनले यस्ता घटना भविष्यमा नदोहोरिन्छन् भन्न नसकिने भन्दै सरकारले गम्भीर हुनुपर्ने धारणा राखे।


यस्तै, नेपाली कांग्रेसका सांसद जीवन परियारले चैत १५ को घटनाबारे छानबिन गर्न पूर्वराजा ज्ञानेन्द्रलाई समितिमा बोलाएर मानव अधिकार उल्लङ्घनको विषयमा प्रश्न गर्नुपर्ने प्रस्ताव गरे। “संविधानमा सबै बराबर छन्। अराजकता मच्चाउने छुट कसैलाई छैन,” उनले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार