Logout

फुङ्लिङमा अनिश्चितकालीन निषेध आदेश जारी

8.1k Shares

ताप्लेजुङ जिल्लाको फुङ्लिङ नगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेध आदेश जारी गरिएको छ। यो आदेश आइतबार बिहान ५ बजे देखि लागू भएको हो र अर्को आदेश नआएसम्म यो निषेधाज्ञा लागू रहनेछ। जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा फुङ्लिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदङ्गा, झडप र अन्य प्रतिकूल स्थितिको सृजना हुन सक्ने भन्दै शान्ति र सुरक्षा कायम गर्न यो निर्णय गरेको बताइएको छ।

निषेध आदेशका अनुसार, फुङ्लिङ नगरपालिकाको चार किल्ला भित्रको क्षेत्रमा पाँच भन्दा बढी व्यक्तिहरू एकठाउँ भई सभा, जुलुस, प्रदर्शन, घेराउ जस्ता कार्यक्रम गर्न मनाई गरिएको छ। यो निषेधाज्ञा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम जारी गरिएको हो। निषेधित क्षेत्रमा फुङ्लिङ नगरपालिकाको वार्ड नं. ७ सल्लेरी (पूर्व), वार्ड नं. ७ घोडे चौर (पश्चिम), वार्ड नं. ४ उकालीपानी (उत्तर), र वार्ड नं. ६ शेर्पा टोल (दक्षिण) सम्मको क्षेत्र समावेश छ।

यसैगरी, काफ्लेपाटी बल्लुडाँडा क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ। यस क्षेत्रमा पूर्वमा पर्यटक प्रहरीको भवनको १०० मिटर इलाका, पश्चिममा बल्लुडाँडा-डडेले इलाका, उत्तरमा केबलकार बेस स्टेसन र पानीको मुहानको १०० मिटर इलाका, र दक्षिणमा नयाँ बसपार्कको १०० मिटर इलाका (जङ्गल क्षेत्र समेत) सम्म निषेधाज्ञा लागू गरिएको छ।

निषेधाज्ञा उल्लङ्घन गर्ने वा यसको पालना गर्न अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूह विरुद्ध प्रचलित कानून बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

ताप्लेजुङमा नो केबलकार आन्दोलनका पक्षधरहरूले विरोध प्रदर्शन गरिरहेका छन्। यसका कारण प्रहरी र आन्दोलनरत पक्ष बीच झडप भइरहेको छ। शुक्रवार साँझ फुङ्लिङको बिरेन्द्रचोकमा भएको झडपमा प्रहरी र अन्य धेरै जना घाइते भएका थिए। यस्तो तनावपूर्ण स्थितिका कारण निषेध आदेश जारी गरिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार