
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजार शनिबार तनावग्रस्त बनेको छ। ‘नो केवलकार’ अभियानका समर्थकहरूले मलास जुलुससहित प्रदर्शन गर्दै नाराबाजी गरेका बेला सुरक्षाकर्मीले बलिरहेको राँको नियन्त्रणमा लिन खोज्दा झडप भएको हो।
वीरेन्द्रचोकमा पुगेका आन्दोलनकारीहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरू र सुरक्षाकर्मीबीच धक्कामुक्की भएको थियो। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रदर्शनकारीहरूले प्रहरीमाथि बलिरहेको राँको र लाठी प्रहार गर्नुका साथै सर्वसाधारणका घरमा समेत राँको फ्याँकेका छन्।
झडपका क्रममा केही व्यक्ति घाइते भएका छन् भने आगलागी भने हुनबाट जोगिएको स्थानीय प्रशासनले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी रवि रावलले घाइतेको यकिन विवरण आउन बाँकी रहेको जानकारी दिएका छन्।
हाल स्थितिलाई नियन्त्रणमा ल्याइसकिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। झडपका क्रममा धरान निवासी एके दर्नाल,लेलेप निवासी केसिङ कुमार लिम्बू र महोत्तरी निवासि रमण पाण्डे गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि ताप्लेजुङको तमर अस्पतालमा भर्ना गरिएको छ। केही प्रहरी घाइते भएका छन् भने केही आन्दोलनकारीलाई नियन्त्रणमा लिइएको जानकारी दिइएको छ।