
काठमाडौं, माघ १८ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो कार्यकालमा भएका भ्रष्टाचार विरोधी र सुशासन प्रवर्द्धनका कामप्रति जनताको सकारात्मक प्रतिक्रिया रहेको दाबी गरेका छन्।
कुश्मामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा प्रचण्डले १८ महिने कार्यकालमा भएका सुधारका कामले पार्टीप्रति जनविश्वास बढेको बताए। उनले भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र आर्थिक सुधारका कामले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपालको छवि सुधारिएको दाबी गरे।
माओवादी केन्द्रले अब मध्यपहाडी क्षेत्रमा विशेष जनसम्पर्क अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। यस अभियान अन्तर्गत जनयुद्धका क्रममा बेपत्ता भएका परिवार, शहीद परिवार, घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूसँग भेटघाट गरिने कार्यक्रम रहेको छ।
प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचारीहरूको संरक्षण गरिरहेको आरोप लगाउँदै, जनताको विश्वास गुमाएको टिप्पणी गरे। उनले माओवादी केन्द्रले गरेका सकारात्मक कामको प्रचार र वर्तमान सरकारका जनविरोधी कार्यको पर्दाफास गर्ने बताए।