
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले युवा पुस्तामा उद्यमशीलताको विकास गरेर स्वदेशमा नै काम गर्ने वातावरणको निर्माणमा नीजि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
शनिबार नविल बैङ्क तथा मोनाष्टिक विद्यालयको सहकार्यमा जनकपुरधाममा शुरु भएको सामाजिक उद्यमशीलता सम्बन्धि प्रमाणपत्र तहको पठन पाठनको शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् ।
उनले स्वदेशमा आफ्नै संस्कृति, संस्कार तथा माटोमा बसेर काम गर्दा युवा पुस्ताले गर्वको अनुभूति गर्न जरुरी रहेको बताए ।
उनले विदेशमा कमाएर पठाएको रकम विलासितामा बढी खर्च भइरहेको भन्दै मुख्यमन्त्री सिंहले ती रकम सङ्कलन गरी उद्योगको विकासमा खर्च गर्न आवश्यक रहेको भने ।
सो कार्यक्रममा नविल बैङ्कका अध्यक्ष उपेन्द्र पौडेल,नेपाल राष्ट्र बैङ्क मधेश प्रदेशका निर्देशक डिल्लीराम सुवेदी, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी र मोनाष्टिक विद्यालयका प्रबन्ध निर्देशक डा.सोनु साहलगाइतका वक्ताले आफ्ना कुराहरु राखेका थिए।