
"हामीलाई दोस्रो दर्जाको नागरिक बनाएर राखिएको छ। १८ वर्षको लामो संघर्षपछि पनि राज्य हामीलाई स्वीकार्न तयार छैन," लोसपा अध्यक्ष महन्थ ठाकुरले रातोपाटीसँगको विशेष कुराकानीमा आक्रोशपूर्ण प्रतिक्रिया दिए।
"यो विजेताहरूको देश हो, नेपालीहरूको होइन। गोर्खालीलाई मात्र नेपाली मान्ने, अरुलाई किन होइन?" उनले प्रश्न गरे।
ठाकुरका अनुसार राज्यले मधेसीमाथि गरेको विभेद अत्यन्त गम्भीर छ। "हतियार बोकेर आन्दोलन गर्नेहरू शासक बने, शान्तिपूर्ण आन्दोलन गर्ने हामी अपराधी!" उनले थपे।
उनले चेतावनी दिए - "भोकाएको मान्छे जहिले पनि विद्रोह गर्न सक्छ। जसरी भूकम्प र आँधीबेहरीको समय तालिका हुँदैन, त्यसैगरी मधेस विद्रोह पनि जुनसुकै बेला विस्फोट हुनसक्छ।"
"नागरिकता पाउन मधेसीले किन यति धेरै दुःख पाउनुपर्ने? राज्यले हामीलाई जानीजानी बञ्चित गरिरहेको छ," उनले भने।
ठाकुरले प्रष्ट पारे - "राज्यसँग हाम्रो माग स्पष्ट छ। या त हामीलाई समान अधिकार देऊ, नत्र स्पष्ट भनिदेऊ कि मधेसीको यो देशमा कुनै अधिकार छैन।"
उनले चेतावनी दिँदै भने - "जनतामा उकुसमुकुस बढ्दैछ। अब धैर्यको बाँध टुट्न लागेको छ।"