बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) ले सबै मिलेर भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८१ लाई सोमबार हेटौँडामा सम्बोधन गर्नुहुँदै भ्रष्टाचार नियन्त्रण गर्न मन्त्रालयदेखि कार्यपालिका, न्यायपालिका सबै एकताबद्ध र एकजुट हुनुपर्ने बताउनुभयो ।
"भ्रष्टाचार कसरी नियन्त्रण गर्ने भन्ने विषय महत्त्वपूर्ण छ, भ्रष्टाचार भयो भन्ने कुरामा मात्रै सीमित रहनु भएन," मुख्यमन्त्री लामाले भन्नुभयो । एउटा तरिकाले मात्रै भ्रष्टाचार नियन्त्रण हुँदैन नियन्त्रण गर्ने विधि अपनाउनुपर्छ, विधि जबसम्म बन्न सक्दैन तबसम्म भ्रष्टाचारको सवाल उठिरहने उहाँको भनाइ छ।
हिजोको विधिले मात्रै भ्रष्टाचार नियन्त्रण सम्भव नभएको बताउँदै अब बन्ने विधि प्रविधिमैत्री हुनुपर्नेमा उहाँले जोड दिनुभयो । राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी र आम नागरिक सबैको सम्पत्ति पहिचान भए मात्रै भ्रष्टाचार नियन्त्रण हुनसक्ने उहाँको भनाइ छ । ऐन कानुन मात्रै ल्याएर नहुने बताउँदै उहाँले भ्रष्टाचार नियन्त्रणको विधि आवश्यक रहेको बताउनुभयो ।
प्रसङ्ग जोड्दै उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि नियन्त्रण गर्नुपर्ने बताउँदै प्रतिशोधको भावना राख्न नहुने बताउनुभयो । कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउनु, कार्यालय पोसाक नलगाउनु, कर छल्नु, जग्गाको न्यूनतम मूल्यमा कारोबार गर्नु सबै भ्रष्टाचार भएको उहाँको भनाई छ । उहाँले प्रविधिको प्रयोग गरेर भ्रष्टाचार नियन्त्रण गर्ने विधि अपनाउनुपर्नेमा जोड दिर्दै सबैले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर प्रण गर्नुपर्नेमा जोड दिनुभयो ।
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले भ्रष्ट आचरण बढ्दै गएको चिन्ता व्यक्त गर्दै पछिल्लो समय मानिसहरू केवल द्रव्य कमाउन मात्रै केन्द्रित भएको बताउनुभयो । कानुन, नियमको परिधि उलङ्घनको क्रम बढ्दो क्रममा रहेको बताउँदै उहाँले विकास र समृद्धिको बाधक भ्रष्टाचार भएकाले यसको नियन्त्रण र न्यूनीकरणमा सबैले इमानदारिता प्रस्तुत गर्न आवश्यक रहेको जिकिर गर्नुभयो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलवालले भ्रष्टाचारको प्रकृति र प्रवृत्ति फरक हुँदै गएको र गैर कानुनी लेनदेन समाजमा फरक तरिकाले हुँदै आएको बताउनुभयो । सरकारी प्रतिवेदन, महालेखाको प्रतिवेदनले सबैलाई गिज्याइरहेको उहाँको तर्क छ । राज्यका कुनै पनि नीति निर्माणमा संलग्नमा सदाचारी, इमानदारिता नभएसम्म भ्रष्टाचार न्यूनीकरण र नियन्त्रण हुन नसकेको उहाँको भनाइ छ ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका कार्यालय प्रमुख उमाकान्त आचार्यले कार्यालय मातहतका निकायमा भ्रष्टाचारको अवस्था र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव केशवराज सुवेदीले समग्र बागमती प्रदेश भ्रष्टाचार निवारण र सुशासन प्रवर्द्धनका रणनीतिहरू विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । बागमती प्रदेशका प्रमुख सचिव डा.हरिप्रसाद लम्सालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मन्त्री, सचिव, कर्मचारी लगायतकाको उपस्थिति रहेको थियो ।