Logout

निर्वाचन अवधिमा सीमा नाका बन्द, मिथिला माध्यमिकी परिक्रमा सहभागी भारतीय यात्रुलाई घर फर्किन सहजीकरण

780 Shares

नेपाल–भारत सीमा — प्रतिनिधिसभा निर्वाचन (फागुन २१) लाई लक्षित गर्दै सुरक्षा व्यवस्थापन कडा पारिने भएपछि नेपाल–भारत सीमा क्षेत्रमा आवागमन अस्थायी रूपमा बन्द गरिने भएको छ। तर मिथिला माध्यमिकी परिक्रमामा सहभागी भारतीय यात्रुहरूलाई घर फर्किन विशेष सहजीकरण गरिने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार सीमा नाकाबाट आवागमन फागुन १८ गते मध्यरातदेखि फागुन २१ गतेसम्म पूर्ण रूपमा बन्द रहनेछ। तथापि परिक्रमा सहभागी भारतीय नागरिकलाई फागुन १९ मध्याह्नदेखि २० मध्याह्नसम्म जयनगर, जटही, मटिहानी तथा भिठ्ठामोर नाकाबाट सुरक्षाकर्मीको सहजीकरणमा स्वदेश फर्किने व्यवस्था मिलाइनेछ।

१५ दिनसम्म सञ्चालन हुने परिक्रमा यात्राका सहभागीहरू अन्तिम दिन सोमबार राति जनकपुर पुग्नेछन्। त्यसपछि मङ्गलबार बिहान पञ्चकोसी क्षेत्रमा परिक्रमा सम्पन्न गरी बुधबार मध्याह्नसम्म घर फर्किने कार्यक्रम रहेको प्रशासनले जनाएको छ।

परिक्रमा यात्रामा ठूलो संख्यामा भारतीय साधुसन्त तथा सर्वसाधारण सहभागी हुने भएकाले सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिइएको छ। प्रशासनले महोत्तरी र धनुषा जिल्लाबीच समन्वय गरी यात्रुहरूको सुरक्षित तथा सहज आवागमन सुनिश्चित गरिएको जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार