देवानगञ्ज । अप्पन विराटगढ परोपकार समाज केन्द्रीय कार्यालय विराटनगरको आयोजनामा मैथिली भाषा लोक संरक्षण एवं जनजागरण अभियानसँगै लोक कला प्रतिभा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पाँच जना स्थानीय पत्रकारलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचनप्रसाद मेहता, विशिष्ट अतिथि देवानगञ्ज गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष जगनरायण मेहता, अप्पन विराटगढ परोपकार समाजकी केन्द्रीय अध्यक्ष बसुन्धरा झा, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सचिव अरविन्द मेहता, मैथिली गायक बिरेन्द्र झा, स्थानीयवासी, समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न मैथिली लोकगीत तथा लोकनृत्य प्रस्तुत गरिएको थियो भने मिथिला पेन्टिङको प्रदर्शनीसमेत गरिएको थियो । साथै लोक परिकारतर्फ तिलको लड्डु, बगिया, अचार, हलुवा, अदौरीलगायत विभिन्न मिथिला परिकारको प्रदर्शनी गरिएको थियो । स्थानीय मिथिलानी महिलाहरूले आफ्ना घरबाट तयार पारेका विभिन्न मैथिली परिकारहरू कार्यक्रममा ल्याएका थिए ।

कार्यक्रममा रिपब्लिक नेपालकर्मी जुगेश दास, पत्रकार नमाे अनलाइनका ब्रहमदेव मेहता, आजको अपडेटका पत्रकार डुमरलाल मेहता, सनराइज पत्रका पत्रकार अजय मण्डल र आर्य न्युजका पत्रकार राजिव मेहतालाई सम्मान गरिएको हो ।
दिव्या ज्योति विद्या मन्दिरका छात्रछात्राहरूले विभिन्न मैथिली गीतमा आकर्षक लोकनृत्य प्रस्तुत गरेका थिए भने गायक बिरेन्द्र झाले मैथिली गीत गाएर कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएका थिए ।
प्रमुख अतिथि वेचनप्रसाद मेहताले यस्ता कार्यक्रमले लोप हुँदै गएका मैथिली खानपान, कला र संस्कृतिलाई पुनर्जीवन दिने बताए । उनले मैथिली भाषा हाम्रो मातृभाषा भएको उल्लेख गर्दै यसलाई देशव्यापी रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । “भाषा, कला र संस्कृतिको संरक्षण बिना पहिचान जोगिँदैन, त्यसैले यस्ता कार्यक्रम निरन्तर हुनुपर्छ,” उनले थपे ।

विशिष्ट अतिथि वडा अध्यक्ष जगनरायण मेहताले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै यस्ता अभियानले स्थानीय कला, संस्कृति र खानपानलाई प्रोत्साहन गर्ने बताए । उनले अप्पन विराटगढ परोपकार समाजलाई रु. १५ हजार आर्थिक सहयोग प्रदान गर्दै आगामी दिनमा अझ व्यापक रूपमा यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने धारणा राखे ।

अप्पन विराटगढ परोपकार समाजकी केन्द्रीय अध्यक्ष बसुन्धरा झाले मैथिली भाषा, कला र संस्कृतिको संरक्षण समाजको मुख्य उद्देश्य रहेको बताइन् । उनले पत्रकारहरूले समाजलाई सुसूचित बनाउँदै भाषा र संस्कृतिको संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सृजनात्मक कार्यक्रम निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन् ।