हरिनगर गाउँपालिकामा दुई समुदायबीच उत्पन्न भएको विवाद आज जिल्ला प्रशासन कार्यालय सुनसरीकाे सभाहमा सहमतिमा टुंगिएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा सम्पन्न छलफलमा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव कुमार थेवे, सशस्त्र प्रहरी बल सुनसरीका प्रहरी उपरीक्षक निर्मल थापा, राष्ट्रिय अनुसन्धान सुनसरीका प्रमुख विमल घिमिरे, हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी, उपाध्यक्ष रिमझिम कुमारी भगत, वडा नं. ४ का वडा अध्यक्ष देवनारायण मेहता, नेपाल शिव सेना सुनसरीका जिल्ला संयोजक दिपेश मेहता, बाबा सिंहसहित दुवै समुदायका अगुवाहरूको उपस्थितिमा सहमति भएको हो।

छलफलपछि भएको सहमति अनुसार मुस्लिम समुदायका समीर राज नामक युवाले सार्वजनिक रूपमा माफी माग्दै आगामी दिनमा कुनै पनि धर्म, आस्था वा समुदायलाई लक्षित गरी भिडियो बनाउने, सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिने वा धार्मिक भावनामा चोट पुग्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन्।

यस्तै, हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतले पनि सहमतिपछि माफी दिँदै भविष्यमा कसैको चरित्रहत्या, गालीगलौज वा अपमानजनक अभिव्यक्ति नगर्न सबैलाई आग्रह गर्नुभएको छ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले अब उपरान्त कुनै पनि समुदायलाई लक्षित गरी साम्प्रदायिक सद्भाव बिगार्ने, समाजमा अशान्ति फैलाउने वा धार्मिक भावनामा चोट पुर्याउने गतिविधि गरेमा सम्बन्धित जो कोहीमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिनुभयो। साथै विदेशमा बसेर सामाजिक सञ्जालमार्फत गालीगलौज, उत्तेजक अभिव्यक्ति वा चरित्रहत्या गर्ने व्यक्तिलाई समेत कानुनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो।