भारत र नेपालबीच नयाँ प्रविधि तथा स्टार्टअप क्षेत्रको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको भारत–नेपाल सहकार्यसम्बन्धी गोलमेच छलफल जनकपुरधाममा सफलतापूर्वक सम्पन्न भएको छ।
भारतको वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास र नेपाल यंग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) का वीरगञ्ज तथा जनकपुरधाम अध्यायहरूको सहकार्यमा पीएचडीसीसीआई भारत–नेपाल सेन्टरद्वारा उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा स्टार्टअप संस्थापक, युवा उद्यमी तथा साना तथा मझौला उद्योग (एमएसएमई) का प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कुल ४० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्जस्थित भारतीय महावाणिज्य दूत देवीसहाय मिणाले भारत–नेपालबीच प्रविधि र स्टार्टअप क्षेत्रमा सहकार्य विस्तार गर्न यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सूचना प्रविधि तथा आईटी–सक्षम सेवामा भारतसँग रहेको अनुभव र दक्षता नेपाली उद्यमीहरूका लागि उपयोगी र लाभदायक हुने उल्लेख गरे।
यस गोलमेच छलफलले दुवै देशका उद्यमीहरूबीच ज्ञान आदान–प्रदान, साझेदारी तथा लगानीका नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ। साथै भारत–नेपालबीचको आर्थिक तथा प्राविधिक सहकार्यलाई थप सुदृढ बनाउँदै मधेस प्रदेशलाई स्टार्टअप हबका रूपमा विकास गर्न यस्ता पहलहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।