बर्दियामा २८ वर्षीय निरज चौधरीको गोली हानेर हत्या गरेको अभियोगमा मुख्य आरोपी महावीर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। दाङ तुलसीपुर–६ का ५१ वर्षीय महावीरलाई बिहीबार बिहान ३ बजे कैलालीको कैलारी गाउँपालिका–२ मा लुकिछिपी बसेको अवस्थामा समातिएको हो। उनलाई बर्दिया र कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले एउटा खाली घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेको निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर कैलाश विष्टले जानकारी दिए।
महावीर लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीका साइँला भाइ हुन्। तर उनीहरू करिब दुई दशकदेखि अलग–अलग बस्दै आएका छन्।
हत्या कसरी भयो ?
आइतबार बिहान बर्दियाको राजापुर–४ मा रहेको हमार थारू घर एन्ड रेस्टुरेन्ट भित्र महावीरले निरजको कन्चटमा गोली हानेका थिए। सो रेस्टुरेन्ट रामकुमारी थारू नाममा दर्ता भए पनि महावीरसँग साझेदारीमा सञ्चालन हुँदै आएको खुलेको छ। घटनास्थलबाट गोली, पासपोर्ट, भिसा र अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ।
निरजलाई महावीरकै पोल्ट्री फर्म रहेको जमिनको रेखदेखका लागि दाङबाट बर्दिया ल्याइएको थियो। नातामा निरज महावीरका नाति पर्ने प्रहरीले जनाएको छ।
अमेरिका लैजाने प्रलोभन र लेनदेनको झगडा
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार महावीरले ‘तल्लो बाटो’ प्रयोग गरी अमेरिका पठाइदिने भन्दै निरजसहित धेरैबाट पैसा लिएका थिए। तर अमेरिकी आप्रवासन कडाइका कारण निरजलाई पठाउन नसक्दा उनले रकम फिर्ता माग्दै आएका थिए। आइतबार पनि सोही माग दोहोरिएपछि महावीरले गोली प्रहार गरेको आशंका प्रहरीले जनाएको छ।
महावीर अमेरिकी ग्रिन कार्डधारी हुन् र परिवारसहित अमेरिकामा बस्दै आएको पाइएको छ। नेपाल आउने हरेक पलमा उनी युवालाई अमेरिका पठाइदिने प्रलोभनमा पारी रकम उठाउने गरेको अनुसन्धानले देखाएको छ।
हत्या पछि प्रमाण नष्ट गर्न प्रयास
गोली हानेर ढलेका निरजलाई महावीरले आफ्नै सहयोगीमार्फत नेपालगन्जको एक नर्सिङ होम पुर्याएका थिए। प्रहरीका अनुसार, भाग्न सजिलो होस् र घटना ढाकछोप गर्न सघाओस् भनेर जिल्ला अस्पतालको साटो टाढाको नर्सिङ होम लैजान निर्देशन दिएको देखिन्छ।
निरजलाई बिहान ८ बजे गोली हानिएको भए पनि अस्पताल ११ बजे मात्र पुर्याइएको थियो। चिकित्सकहरूले तत्काल मृत घोषणा गरेपछि अस्पतालले गोली लागेको आशंकासहित प्रहरीलाई खबर गरेको थियो।
प्रहरी घटनास्थल पुग्दा रेस्टुरेन्टमा लिपपोत र सफाइ गरिएको भेटिएको थियो। प्रमाण नष्ट गर्न मद्दत गरेको अभियोगमा रामकुमारी थारू, उनका श्रीमान बुद्धि थारू र छोरा राहुल थारूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
पीडित परिवारको अवस्था
निरज एकलौटा छोरा थिए। उनका बुवा–आमा भारतमा मजदुरी गर्छन्। छोराको हत्या भएपछि नेपाल आएर किटानी जाहेरी दिएका थिए। सर्पदंशबाट निरजका १४ वर्षीय कान्छा भाइको केही वर्षअघि मृत्यु भइसकेको छ।
पोस्टमर्टमपछि मंगलबार नै निरजको अन्त्येष्टि गरिएको छ। बिहीबारसम्म पोस्टमर्टम रिपोर्ट सार्वजनिक हुने प्रहरीले जनाएको छ।
पक्राउ परेका महावीरलाई प्रहरीले चाँडै सार्वजनिक गर्ने तयारी गरिरहेको छ।




