बर्दिया – नागरिकताको पहुँच र न्याय नपाएको बर्दियाको बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीकी फुलानी थारू परिवार दोहोरो शोकमा छिन्। उनकी २२ वर्षीया छोरी अञ्जुले गत कात्तिक २२ गते घरमै आत्महत्या गरेकी हुन्। त्यसपछि चौथो दिन ६१ वर्षीय श्रीमान् कान्छा थारूले पनि छोरीको मृत्युको शोकमा आत्महत्या गरे। अहिले ७ वर्षीया नातिनीको सम्पूर्ण जिम्मेवारी फुलानीमाथि छ।
घटना आवेगप्रेरित नभई वर्षौं लामो राज्य अन्याय र नागरिक अधिकारबाट वञ्चित रहनुको परिणाम भएको मानवअधिकारकर्मीहरूले उल्लेख गरेका छन्।
८ वर्षअगाडिदेखि सुरु भएको घटनाक्रम अनुसार, अञ्जु १५ वर्षकी हुँदा छिमेकी अनिल थारूसँगको सम्बन्धबाट गर्भवती भइन्। पञ्चायतीको निर्णयपछि अनिलले मन्दिरमा सिन्दुर हालेर अञ्जुलाई घर भित्र्याए र २४ मंसिर २०७५ मा अञ्जुले छोरी जन्माइन्।
छोरी जन्मिएपछि दुवैबीच सम्बन्ध बिग्रँदै गएर अञ्जु माइत फर्किइन्। ८ माघ २०७६ मा उनले जन्मिएको सन्तानको अंश माग गर्दै जिल्ला अदालत बर्दिया पुगिन्। तर अदालतले अनिलले जन्मिएको बच्चा आफ्नो छोरी नभएको दाबी गरेपछि पनि विवाह बदर गरेन। अदालतले २०७९ कात्तिक २० मा अंशबन्डा गरी अञ्जु र छोरीले अंश पाउनुपर्ने निर्णय गर्यो।
तर अञ्जु र उनका बाबुले वडा कार्यालय र प्रशासनिक निकायमा नागरिकता र जन्मदर्ता प्रक्रिया अगाडि बढाउन सकेनन्। विवाह दर्ता र नागरिकताको अभावले अदालतको फैसला कार्यान्वयनमा बाधा उत्पन्न भयो। बारम्बार निवेदन गर्दा पनि वडा कार्यालयले प्रक्रिया अगाडि बढाएन।
बालबालिकासम्बन्धी कानुन अनुसार जन्मदर्ता र पहिचान दिने अधिकार सुनिश्चित गरिएको भए पनि राज्यका निकायले यसलाई कार्यान्वयन नगरेको मानवअधिकारकर्मी तथा अधिवक्ता मोहना अन्सारीले बताइन्। उनले वडादेखि जिल्ला प्रशासन कार्यालयसम्म कमजोरी देखिएको र दोषीको कारबाही आवश्यक रहेको बताइन्।
अञ्जुको आत्महत्यापछि परिवारले अनिल थारूविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएको छ। जिल्ला प्रहरी कार्यालय मैनापोखरका प्रहरी उपरीक्षक सरोज पौडेलले अनिल फरार भएको र खोजी तीव्र रूपमा भइरहेको जानकारी दिए।
नागरिक समाजका प्रतिनिधिहरूले अञ्जुको परिवारले भोगेको अन्यायको अध्ययन र दोषीलाई कडा कारबाहीको माग गरेका छन्। मानवअधिकारकर्मीहरूले अदालतको फैसला र संविधानले दिएको हक कार्यान्वयन नगरीको घटनालाई गम्भीर मान्दै प्रधानन्यायाधीशको ध्यानाकर्षण आवश्यक भएको बताएका छन्।
फुलानीको घरमा मंगलबार पुगेको क्रममा छेवैमा भत्किएको टहरा देखियो। उनले बताइन्, “छोरी त्यहीँ बस्दै आएकी थिई, उसको झल्को बारम्बार आएपछि हामीले टहरा भत्काइदियौं।”