सरकारले सामाजिक सञ्जाल बन्द गरेको निर्णयको विरोधमा जेनजी पुस्ताका युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा ठूलो प्रदर्शन गरेका छन् ।
उनीहरूले भ्रष्टाचार, अव्यवस्था र अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले लगाएको नियन्त्रणविरुद्ध आवाज उठाएका हुन् । राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिएका युवाहरूले राष्ट्रभक्ति गीत गाएका र ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’ जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका छन् । धेरैजना विद्यार्थी स्कुल–कलेजको पोशाकमै सहभागी भएका थिए ।
सामाजिक सञ्जालमार्फत् गरिएको आह्वानअनुसार प्रदर्शनमा उत्रिएका जेनजीले कुनै पनि राजनीतिक दलका नेता वा कार्यकर्तालाई सहभागी नगराउने बताएका छन् । साथै उनीहरूले सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी र तोडफोड नगर्ने, धाकधम्की नदिने, रुख–बिरुवा नभाँच्ने र सभ्यतापूर्ण ढंगले शान्तिपूर्ण आन्दोलन गर्ने प्रतिबद्धता जनाएका छन् ।
यसैबीच, सम्भावित घुसपैठ र अशान्ति रोक्नका लागि सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ । काठमाडौंसँगै रुपन्देही, दाङलगायतका जिल्लामा पनि जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।