ट्रेन्डिङ

Logout

नवलपुरमा जापानीज इन्सेफ्लाइटिसको प्रकोप, तीन जनाको मृत्यु, १४ सङ्क्रमित

4.9k Shares

नवलपुर जिल्लामा जापानीज इन्सेफ्लाइटिसको प्रकोप देखिएको छ। हालसम्म तीन जनाको मृत्यु भएको छ भने १४ जना सङ्क्रमित भएका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमितमध्ये दुई जनाको उपचार प्रादेशिक अस्पताल डण्डामा भइरहेको छ भने बाँकी निको भई घर फर्किसकेका छन्।

कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीका अनुसार मृत्यु हुनेमा हुप्सेकोट–१ की १३ वर्षीया बालिका, मध्यविन्दु–१ का ५२ वर्षीय पुरुष र बौदिकाली–२ की ४५ वर्षीया महिला रहेका छन्।

सबैभन्दा बढी सङ्क्रमण कावासोती नगरपालिकामा ६ जना, मध्यविन्दुमा ४ जना, हुप्सेकोट, देवचुली, बौदिकाली र गैँडाकोटमा एक–एक जनामा पुष्टि भएको छ। अघिल्लो वर्ष १२ जना सङ्क्रमित हुँदा ४ जनाको ज्यान गएको थियो भने यसअघि एक वर्षमा जम्मा तीन जनामा मात्र सङ्क्रमण देखिएको थियो।

जापानीज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार विशेषगरी वर्षात्, धान खेत, बगैँचा र ताल–किनारमा काम गर्नेहरूमा संक्रमण फैलिने जोखिम बढी हुन्छ।

यसैबीच, कावासोती नगरपालिकाले रोकथामका उपायमा ध्यान दिन अपिल गरेको छ। प्रमुख प्रशासकीय अधिकृत महेश पाण्डेले लामखुट्टेको टोकाइबाट जोगिन, पशुपक्षीलाई सुरक्षित तरिकाले घरदेखि टाढा पाल्न, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाउन र सरसफाइमा ध्यान दिन आग्रह गरेका छन्।

जिल्ला जनस्वास्थ्य कार्यालयले समेत जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग समन्वय गर्दै सरसफाइ र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार