ट्रेन्डिङ

Logout

रौतहटमा ट्रक र स्कार्पियो ठोक्किँदा सात जना घाइते

3.2k Shares

रौतहटको चन्द्रपुर नगरपालिका–४, धनसर पुल नजिकै पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रक र स्कार्पियो एक आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीका अनुसार बुधबार बिहान ४ः३० बजे पोखरादेखि हरिवन, सर्लाही जाँदै गरेको गण्डकी बि ए ए ०८०४ नम्बरको स्कार्पियो र विपरीत दिशाबाट आउँदै गरेको प्र–१०२–००१ ख ९४१० नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको हो।

सामान्य घाइतेहरुको उपचार हाइवे ट्रमा अस्पताल चन्द्रनिगाहपुरमा भइरहेको छ भने गम्भीर घाइतेहरु एलएस न्यूरो अस्पताल परवानीपुर, बारामा उपचाररत छन्।

स्कार्पियोमा सवार कास्की पोखरा–११ का ४९ वर्षीय विष्णुप्रसाद पौडेल, सोही ठाउँका दामोदर अधिकारीकी ५६ वर्षीया श्रीमती मीरा अधिकारी, पार्वती गुरुङ र ट्रक चालक बारा, सिमरा जितपुर–२ का ३२ वर्षीय शिव आले मगर सामान्य घाइते रहेका छन्।

गम्भीर घाइतेहरुमा रोहन टण्डुकारकी ५४ वर्षीय श्रीमती सोनु माया पाइजाको, मदन गुरुङकी ३४ वर्षीय श्रीमती भगवती गुरुङ र वडा नम्बर १८, चन्द्रनिगाहपुरकी ५७ वर्षीय वृद्धिमाया पुन रहेका छन्।

स्कार्पियोमा सवार ६५ वर्षीय दामोदर अधिकारी र ट्रकका सहचालक धादिङ, नीलकनठ नगरपालिका–२ का २९ वर्षीय राजन थापा सकुशल रहेका छन्।

दुर्घटनापछि बाटो अवरुद्ध भएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले बाटो पुनः सुचारु गर्दै दुर्घटनामा संलग्न गाडीहरू नियन्त्रणमा लिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार