शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन्।
शिखर सम्मेलन सुरु हुनु अघि आयोजित फोटो सेसनमा तीनै नेता हात मिलाउँदै उभिएका देखिएका थिए। यस क्रममा मोदीले पुटिनलाई अंकमाल पनि गरे। आइतबार भने मोदीले राष्ट्रपति जिनपिङसँग द्विपक्षीय वार्ता गर्दै व्यापार र आतंकवादलगायतका विषयमा छलफल गरेका थिए।
सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सी जिनपिङले यस वर्ष एससीओ सदस्य मुलुकहरूलाई करिब २ अर्ब युआन (२८१ मिलियन अमेरिकी डलर) सहयोग दिने घोषणा गरे। उनले यो रकम सदस्य राष्ट्रहरूको आर्थिक र विकाससम्बन्धी आवश्यकता पूरा गर्न उपयोग हुने बताए। साथै उनले संगठन आतंकवाद, अलगाववाद र उग्रवादविरुद्ध प्रतिबद्ध रहेको दोहोर्याए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एससीओ मुलुकहरूमाथि उच्च भन्सार शुल्क लगाइरहेको सन्दर्भमा, यी राष्ट्रहरू अमेरिकी दबाबको विकल्प खोज्दै साझा मञ्च निर्माण गर्न खोजिरहेका विश्लेषण गरिएको छ। चीनले रसिया, भारत, इरानजस्ता राष्ट्रहरूसँग मिलेर अमेरिकी नेतृत्वमा आधारित ग्लोबल अर्डरको विकल्प तयार गर्ने लक्ष्य लिएको देखिन्छ।
यस पटकको सम्मेलनमा एससीओ सदस्य मुलुकहरू मात्र नभई पर्यवेक्षक र साझेदार देशसमेत गरी २० भन्दा बढी राष्ट्रका नेताहरू सहभागी छन्।
प्रधानमन्त्री मोदीले भेटघाटका तस्वीरहरू सामाजिक सञ्जाल ‘एक्स’ मा शेयर गर्दै, राष्ट्रपति पुटिन र राष्ट्रपति शीसँग विचार आदानप्रदान भइरहेको बताएका छन्।
यसअघि आइतबार उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज़्जू, इजिप्टका प्रधानमन्त्री मुस्तफा माडबाउली, बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्को, ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोन, कजाखस्तानका राष्ट्रपति तोकायेव, म्यानमारका वरिष्ठ जनरल मिन आङ हलाइङसँग पनि भेट गरेका थिए।
मोदीले यी भेटघाटहरूमा व्यापार, ऊर्जा, सुरक्षा र आपसी सहकार्यका विषयमा गहन छलफल भएको जानकारी दिएका छन्।