Logout

वीरगन्जमा हैजा नियन्त्रणतर्फ : सतर्कता, जनचेतना र उपचार निरन्तर

3.7k Shares

पर्साको वीरगन्जमा फैलिएको हैजा अहिले नियन्त्रणउन्मुख बनेको छ। गत वर्ष उपत्यकामा समेत छिटपुट रूपमा देखिएको हैजा यस पटक वीरगन्जमा प्रकोपकै रूपमा फैलिँदा केहीको मृत्यु भएको र सयभन्दा बढी बिरामी परेको स्वास्थ्य निकायले जनाएको छ।

हरेक वर्ष बर्खायाममा मुलुकका विभिन्न स्थानमा हैजा देखिने गरेकाले यसपटक पनि सरकार उच्च सतर्कतासहित काम गरिरहेको छ। खानेपानीका स्रोतको शुद्धीकरण, जनचेतना अभियान, औषधि र दक्ष स्वास्थ्यकर्मी परिचालनजस्ता उपाय अवलम्बन गरिएको छ। हाल वीरगन्जका अस्पतालमा हैजासम्बन्धी बिरामी भर्ना हुने र डिस्चार्ज हुने क्रम जारी छ।

यो वर्ष हैजा विशेषगरी वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३, ११, १२, १३ र १६ मा बढी देखिएको छ। मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सरोज न्यौपानेका अनुसार नेसनल मेडिकल कलेज, एड्भान्स हस्पिटल र वीरगन्ज हेल्थ केयरमा उपचाररत बिरामी निको भइसकेका छन् भने नारायणी अस्पतालमा अझै बिरामीको चाप छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सङ्घीय, प्रदेश, स्थानीय सरकार र विश्व स्वास्थ्य सङ्गठन (WHO) को टोली सक्रिय रूपमा खटिएकाले प्रकोप नियन्त्रणतर्फ उन्मुख भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा दूषित खानेपानीमै हैजाको जीवाणु पुष्टि भएको र सम्भावित क्षेत्रमा सतर्कता बढाइएको छ।

अघिल्ला वर्षहरूमा पनि हैजाको प्रकोप दोहोरिँदै आएको तथ्यांकले देखाउँछ। आव २०७९/८० मा १,३१६ जना, आव २०८०/८१ मा १,०१६ जना र आव २०८१/८२ मा २,३७३ जनामा हैजा पुष्टि भएको थियो। झाडापखालाका बिरामीको संख्या पनि बर्सेनि उच्च रहेको मन्त्रालयले जनाएको छ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हैजाको ब्याक्टेरिया शरीरमा प्रवेश गरेको १२ घण्टादेखि पाँच दिनभित्र गम्भीर लक्षण देखिन्छ। अचानक पखाला लाग्नु, निर्जलीकरण, बान्ता, आँखा गढ्नु, मुख सुक्खा हुनु, अत्यधिक तिर्खा लाग्नु र रक्तचाप घट्नु यसको प्रमुख लक्षण हुन्।

डा. पुनले हैजाबाट बच्न उमालेको वा प्रशोधित पानी मात्र पिउन, काँचो वा अधपकाएको माछा नखान, खाना पकाउनुअघि र खानुअघि तथा शौचालय प्रयोग गरेपछि अनिवार्य रूपमा साबुनपानीले हात धुन आग्रह गर्नुभएको छ। व्यक्तिगत सतर्कता र सरकारी सक्रियताले मात्र हैजालाई नियन्त्रण गर्न सकिने विज्ञहरूको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार