बर्खाको सुरुवातसँगै सिन्धुली जिल्लामा बिरामीको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । दूषित पानी र खानपानका कारण ज्वरो, टाइफाइड, झाडापखाला, दम लगायतका रोगका बिरामी बढेका छन् । सिन्धुली अस्पतालका अनुसार पहिले दैनिक करिब ३०० बिरामी उपचारका लागि आउने गरेकामा अहिले ५०० सम्म पुग्ने गरेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अभिषेक थपलियाका अनुसार अहिले दैनिक ४–५ सय बिरामी ओपीडीमा र ४०–५० बिरामी इमर्जेन्सीमा आइरहेका छन् । उनीहरू प्रायः ज्वरो, टाइफाइड, झाडापखाला र दमका रोगी रहेको जनाइएको छ ।
विगत केही वर्षयता विशेषज्ञ सेवा सुरु गरेसँगै सिन्धुली अस्पतालमा शल्यक्रिया गर्ने बिरामी बढेका छन् । पहिले राजधानी काठमाडौं वा अन्यत्र जानुपर्ने अवस्था रहेकामा अहिले जिल्लाकै सबैभन्दा ठूलो स्वास्थ्य संस्थामा उपचारको आकर्षण बढेको हो ।
तर, बिरामी बढ्दो अवस्थामा अस्पतालमा औषधिको अभाव देखिएको छ । राष्ट्रिय बिमा बोर्डले गत वर्ष भदौदेखि हालसम्म दिनुपर्ने करिब सात करोड रुपियाँ भुक्तानी नगर्दा अस्पतालको फार्मेसीमा निःशुल्क वितरण हुने ९८ किसिमका औषधि सकिन पुगेका छन् । यसले गर्दा स्वास्थ्य बिमा गरेका बिरामीहरू समेत बाहिरैबाट औषधि खरिद गर्न बाध्य भएका छन् ।
अस्पताल विकास समितिका अध्यक्ष शतिषचन्द्र ढकालका अनुसार बिमा रकम नआउँदा चिकित्सकलाई इन्सेन्टिभ दिनसमेत समस्या भएको छ । उनले भने, “अहिले चिकित्सकलाई पछि एकमुष्ट भुक्तानी गर्ने आश्वासन दिई काममा लगाइएका छौँ ।”
हाल एक लाख ४३ हजारभन्दा बढीले स्वास्थ्य बिमा गरेका सिन्धुली जिल्लामा आधाभन्दा बढी बिरामी बिमा कार्यक्रमअन्तर्गत अस्पताल आउने गरेका छन् । तर, बिमा रकम नपाउँदा अस्पतालको दैनिक प्रशासनदेखि बिरामीलाई औषधि वितरणसम्मको सेवा प्रभावित बनेको छ ।