प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नकारात्मक भाष्य बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सकारात्मक सोचसहित अघि बढ्न सबैलाई आग्रह गरेका छन्।
सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्णाली’ कार्यक्रममा विहीबार बेलुका सम्बोधन गर्दै उनले भएका उपलब्धिहरुको चर्चा हुन नसकेको गुनासो गरे। “सधैं नकारात्मक भाष्य सिर्जना गर्ने परिपाटी विकसित हुँदै गएको छ। तर, सकारात्मकताका साथ अघि बढ्ने हो भने देश बनाउन समय लाग्दैन,” प्रधानमन्त्री ओलीले भने।
उनका अनुसार आफूमाथि गरिएका व्यंग्यहरु केही नगर्नेहरुले केही गर्नेलाई आक्रमण गरेको जस्तो लाग्छ। उनले कर्णाली क्षेत्रमा आफैले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै, “हामी भन्नेमात्रै होइन, गर्ने पनि पर्छौं,” भने।
प्राकृतिक ग्याँसको खोजीदेखि विश्वविद्यालय निर्माण, सडक, स्वास्थ्य सेवा जस्ता उपलब्धिहरुमा समेत चर्चा नगर्ने प्रवृत्तिप्रति उनले आपत्ति जनाए। “ग्याँस पाइयो, विश्वविद्यालय बन्यो, बाटो बन्यो, सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरियो—तर यसको चर्चा नै हुँदैन,” उनले गुनासो गरे।
कर्णालीको विकासका लागि कमजोरी सुधार्दै अघि बढ्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, “बन्छ कर्णाली, बनाउनुपर्छ। उठ्छ कर्णाली।”