अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले पहिलो पटक जीत दर्ता गरेको छ। मङ्गलबार भएको चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेटको क्षतिमा १८० रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३, आशिफ शेखले २९, कुशल भुर्तेलले २७ र भीम सार्कीले १८ रन जोडेका थिए। लोकेश बमले ११ बलमा नटआउट २५ रन बनाउँदै विस्फोटक प्रदर्शन देखाए।
जवाफमा हरिकेन्स १६.१ ओभरमा ११४ रनमा समेटियो। नेपालको जितमा नन्दन यादव नायक बन्नुभयो। तीन ओभर बलिङ गर्दै उनले १७ रन खर्चेर पाँच विकेट लिए। कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल र रिजन ढकालले पनि एक–एक विकेट हात पारे।
हरिकेन्सका लागि ब्राडली होपले ३१, चार्ली वाकिमले २८ र ज्याक कर्टेनले २१ रन बनाएका थिए, तर अन्य ब्याट्सम्यान टिक्न सकेनन्।
नेपालले यसअघि सिरिजका तीन खेलमा लगातार पराजय भोगेको थियो: पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले, दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो। यस जितसँगै नेपालले सिरिजमा दुई अङ्क जोडेको छ।