ट्रेन्डिङ

Logout

कुवेतमा विषाक्त मदिरा सेवनले १२ नेपालीको मृत्यु, व्यापक अनुसन्धान र पक्राउ अभियान

4.9k Shares

कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ। कुवेतस्थित नेपाली राजदूतावासले आइतबारसम्म १२ जनाको मृत्यु पुष्टि गरेको छ भने करिब ३० जना विभिन्न अस्पतालमा उपचाररत छन्। गत साता ‘मेथानोल’ नामक घातक रसायन मिसिएको अवैध मदिरा सेवनका कारण १६० भन्दा बढी व्यक्ति बिरामी परेका थिए। कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार यस घटनामा हालसम्म विभिन्न देशका २३ जना आप्रवासी कामदारको मृत्यु भएको छ। घटनापछि कुवेतको आन्तरिक मन्त्रालयले मेथानोल उत्पादन र बिक्रीमा संलग्न ६७ जनालाई पक्राउ गरेको छ, जसमा नेपाली, भारतीय र बंगलादेशी नागरिकहरू पनि छन्। सुरक्षा निकायले साल्मिया क्षेत्रबाट एक नेपालीलाई मेथानोलसहित पक्राउ गरेको थियो र बयानका आधारमा अन्य नेपालीहरू पनि पक्राउ परेका थिए। अभियानका क्रममा आवासीय र औद्योगिक क्षेत्रमा सञ्चालित ६ वटा अवैध मदिरा कारखाना नियन्त्रणमा लिइएको छ भने २५८ व्यक्तिलाई अवैध बसोबास, भिसा ओभरस्टे र अन्य कानुनी उल्लङ्घनका कारण पक्राउ गरिएको थियो। कुवेती अधिकारीहरूले विषाक्त मदिरा सेवनपछि अस्पतालमा भर्ना भएका सबै आप्रवासीलाई उपचारपछि देश निकाला गर्ने योजना बनाएका छन्। कुवेतमा मदिरा उत्पादन, सेवन र बिक्रीमा पूर्ण प्रतिबन्ध छ। यस घटनाले कुवेतमा कार्यरत १ लाख ६० हजार नेपाली समुदायको प्रतिष्ठामा असर पुर्‍याएको छ। पछिल्लो समय नेपालीहरू लागूऔषध ओसारपसार र अवैध मदिरा उत्पादन तथा सेवनजस्ता गैरकानुनी गतिविधिमा संलग्न भएका पाइँदा कुवेतमा नेपाली कामदारको छवि नकारात्मक भएको छ। नेपाली राजदूतावास र कुवेतस्थित गैरआवासीय नेपाली संघ (एनआरएन)ले मदिरा सेवन, उत्पादन र बिक्री जस्ता गैरकानुनी कार्य नगर्न सचेत गराएका छन्। कुवेतका जेलमा रहेका नेपालीमध्ये ५० प्रतिशतभन्दा बढी रक्सी र लागूऔषधसम्बन्धी मामिलामा परेका छन्।kuwait-toxic-alcohol-caseee.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार