काठमाडौंको टेकु अस्पतालमा डेंगु संक्रमणका कारण २४ वर्षीया युवतीको मृत्यु भएको छ। मंगलबार बेलुकी अस्पताल भर्ना भएकी उनी आईसीयूमा उपचाररत रहँदै बुधबार बिहान मृत्यु भएको अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल चालिसेले जानकारी दिएका छन्। उनका अनुसार, अस्पताल आउने बेलामै बिरामीको अवस्था जटिल थियो।
यो यस वर्ष डेंगु संक्रमणबाट भएको पहिलो मृत्यु हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का तथ्यांक अनुसार, हालसम्म ७४ जिल्लामा २,९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ, जसमा बागमती प्रदेशमा सबैभन्दा बढी २९८ संक्रमित छन्।
नेपालमा पहिलो पटक २००४ मा चितवनमा एक विदेशीमा डेंगु पुष्टि भएको थियो। त्यसयता हरेक वर्ष ठूलो संख्यामा संक्रमित देखिँदै आएको छ। सन् २०२२ मा ५४ हजारभन्दा बढी संक्रमित र ८८ जनाको मृत्यु भएको थियो भने २०२३ मा ५२ हजारभन्दा बढी संक्रमित र २० जनाको मृत्यु भएको थियो। गत वर्ष १५ जनाको मृत्यु र ४१,८६५ जना संक्रमित भएका थिए।
विज्ञका अनुसार, डेंगु फैलनुमा अव्यवस्थित फोहोर व्यवस्थापन र सफा पानी जम्ने स्थानहरू मुख्य कारण हुन्। नियन्त्रणका लागि ‘खोज तथा नष्ट अभियान’ प्रभावकारी मानिन्छ, जसमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य हुन्छ।