Logout

एसईई ग्रेड वृद्धि परीक्षामा सहभागी संख्या घट्यो, ८६० जनाको नतिजा परिवर्तन

3.8k Shares

माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षामा यस वर्ष सहभागी हुने परीक्षार्थीको संख्या घटेको छ। असार १३ गते सार्वजनिक नतिजामा अनुत्तीर्ण भएका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले साउन २९ गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो। उक्त नतिजामा एक लाख ६७ हजार परीक्षार्थी नन-ग्रेडेड (NG) समूहमा परेका थिए।

तर, परीक्षामा सहभागी हुने योग्यता प्राप्तमध्ये केवल एक लाख ४२ हजार ८५३ जनाले मात्र फाराम भरेका छन्। परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीका अनुसार, विगतमा फाराम भरेका सबैजना परीक्षामा उपस्थित नभएको अनुभव रहँदै आएको छ। यस वर्ष बोर्डले देशभर ४६९ परीक्षा केन्द्र तोकेको छ। पहिलो दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ भने साधारण धारका विषयको परीक्षा भदौ ४ गते र प्राविधिक धारका भदौ ६ गते सम्पन्न हुनेछ।

ग्रेड वृद्धि परीक्षामा सफल हुनेलाई यसै शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना हुन दिने व्यवस्था गरिएको छ। बोर्डले दसैँअघि नै नतिजा प्रकाशित गर्ने तयारी गरिरहेको छ।

यसैबीच, पुनर्योग (रिटोटलिङ) गरेकामध्ये ८६० जनाको नतिजा परिवर्तन भएको छ। असार १३ गतेको नतिजामा असन्तुष्ट भई २७ हजार ३१५ जनाले पुनर्योगका लागि आवेदन दिएका थिए। परीक्षा नियन्त्रकका अनुसार, पाँच चरणमा पुनर्योगको नतिजा सार्वजनिक गरिएको हो, जसमा करिब तीन प्रतिशतको नतिजा मात्र परिवर्तन भएको छ।

नतिजा परिवर्तनपछि केही विद्यार्थीको जीपीए वृद्धि भई चारसम्म पुगेको छ। यस वर्षको एसईईमा कुल ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत अर्थात् २ लाख ७१ हजार २९९ जना उत्तीर्ण भएका थिए भने १ लाख ६७ हजार ५९७ जना अनुत्तीर्ण भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार