3.3k
Shares
मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ। सदरमुकाम जोमसोमबाट फर्निचरका सामान बोकेर मार्फातर्फ जाँदै गरेको ग १ त ७५०२ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा गम्भीर घाइते भएका बागलुङ निसीखोला गाउँपालिका–५ का ३० वर्षीय चालक शेरबहादुर घर्ती मगरलाई अचेत अवस्थामा प्रादेशिक अस्पताल जोमसोम पुर्याइए पनि राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास खत्रीले जानकारी दिए।
मृतकको टाउको र मुखमा गम्भीर चोट लागेको थियो। सोही दुर्घटनामा गोरखा धार्चे गाउँपालिका–५ माछीखोला निवासी ६० वर्षीय आशबहादुर गुरुङ घाइते भएका छन्। उनको दुवै हातमा चोट लागे पनि अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।