पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड फेरि अवरुद्ध भएको छ। हल्का पानी परेपछि बाटो चिप्लो हुने र सवारीसाधन गुड्न नसक्ने समस्या देखिएको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “हल्का पानी पर्नेबित्तिकै गाडी चिप्लिन्छन्, कतिबेला गाडी बिच बाटोमै बिग्रन्छन् त कतिबेला पहिरो आउँछ। कुनबेला के कारणले बाटो अवरुद्ध हुन्छ, भन्नै सकिन्न।”
सडक अवरुद्ध हुँदा सवारी आवागमनमा कठिनाइ भएको छ भने नारायणघाट–बुटवल सडक आयोजनाले मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको जनाएको छ।
बुधबार केही सहज रूपमा गाडी चले पनि चार दिनदेखि पटक–पटक अवरुद्ध हुँदै आएको यो सडक खण्ड बिहीबार पुनः समस्या उत्पन्न भएको प्रहरीले जनाएको छ। विशेषगरी विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर नजिकैको क्षेत्रमा अवरोध दोहोरिइरहेको छ।
हाल दाउन्नेको १४ किलोमिटर क्षेत्रलाई केन्द्रमा राखेर सडक विस्तारको काम भइरहेको छ। तर, अझैसम्म ढलान र कालोपत्रे प्रक्रिया सम्पन्न नहुँदा सामान्य वर्षाले पनि सडक चिप्लिने र समस्या हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जराले जानकारी दिनुभयो।