मदिरा तस्करी नियन्त्रणका लागि गरिएको प्रहरी कारबाहीका क्रममा गएराति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादव रहेका छन्।
प्रहरीका अनुसार भारत–नेपाल सीमाको नजिकै ठूलो मात्रामा मदिरा भण्डारण गरेर तस्करी भइरहेको सूचनाको आधारमा 'सर्च अपरेसन' चलाइएको थियो। सो क्रममा स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो। प्रहरीले घेराबन्दीमा परेपछि र ढुङ्गामुढा हुन थालेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो।
गोली लागेर यादवको तिघ्रामा गम्भीर चोट लागेपछि उनलाई तत्काल उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने प्रयास गरियो तर बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सर्च अपरेसनका क्रममा प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको छ। यसअघि पनि चार दिनअघि सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीविरपुरमा प्रहरीले हवाई फायर गरी दुई जनालाई हेरोइनसहित पक्राउ गरेको थियो। पक्राउ पर्नेमा बरहीविरपुरका विशाल राय र डाक्नेश्वरी–७ का मनोज राय रहेका छन्।
सप्तरीमा सीमावर्ती क्षेत्र हुँदै भइरहेको तस्करी नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ भने स्थानीयवासी र सुरक्षाकर्मीबीच पटक–पटक तनाव उत्पन्न हुने क्रम पनि बढेको देखिएको छ।