श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले वैदेशिक रोजगारसम्बन्धी सबै विज्ञापनहरू अबदेखि अनिवार्यरूपमा "श्रम संसार पोर्टल" (https://shramsansar.gov.np) र "श्रम संसार एप" मार्फत अनलाइन प्रकाशन गर्नुपर्ने व्यवस्था लागू गरेको छ।
मंगलबार विभागले जारी गरेको सूचनामा उल्लेख गरिएअनुसार वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२(३) र वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ७ बमोजिम राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्ने प्रावधान यथावत रहनेछ। तर सोही विज्ञापन अब श्रम संसार पोर्टलमा पनि अपलोड गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको हो।
सरकारले श्रम संसार पोर्टललाई नागरिक एपसँग समन्वयमा सञ्चालनमा ल्याएको छ, जसअनुसार अब नागरिकहरूले एपमार्फत सजिलै वैदेशिक रोजगारका विज्ञापनहरू हेर्न सक्ने व्यवस्था मिलाइएको छ।
विभागका अनुसार विज्ञापन केवल पत्रिकामा मात्र प्रकाशन हुँदा नागरिक एपमार्फत सत्यापन गर्न नसकिने समस्या थियो। त्यसैले अनलाइन प्रकाशन अनिवार्य गरिएको हो।
विभागले सबै वैदेशिक रोजगार व्यवसायीहरूलाई अबदेखि कामदार पठाउने प्रयोजनका लागि विज्ञापन प्रकाशन गर्दा श्रम संसार पोर्टल वा एपमा सम्पूर्ण विवरणसहित अनिवार्यरूपमा अपलोड गर्न सूचित गरेको छ।
साउन १३ गतेदेखि लागू गरिएको यो नयाँ व्यवस्थाअनुसार यदि अनलाइनमा विज्ञापन अपलोड नगरिएको खण्डमा विज्ञापन अपूर्ण मानिनेछ र त्यसअनुसार कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ।